खेलकुद

महिला टी–२० आईमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनिन् इन्दु

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका कप्तान इन्दु वर्माले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेकी छन् ।यो उपलब्धिसँगै उनी यस प्रारूपमा १ हजार रन बनाउने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् ।

मलेशियाविरुद्ध जारी टी–२० शृङ्खलाको चौथो खेलमा इन्दुले नटआउट ४८ रनको उत्कृष्ट प्रदर्शन गर्दै नयाँ कीर्तिमान बनाएकी हुन् । २८ वर्षीया इन्दुले अहिलेसम्म ७७ खेलमा १ अर्धशतकसहित १८.७८ को औसतमा १ हजार ४३ रन बनाएकी छिन् ।

उनी अहिले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको सर्वाधिक रन बनाउने खेलाडी पनि बनेकी छिन् । दोस्रो स्थानमा सीता राना मगर ६३ खेलमा ९ सय ६५ रनसहित र तेस्रोमा रुबिना क्षेत्री ७८ खेलमा ९ सय ३६ रनसहित रहेका छन् ।

आजको खेलमा नेपालले मलेशियालाई ६ विकेटले पराजित गर्दै पाँच खेलको शृङ्खलामा २–२ को बराबरी गरेको छ । मलेशियाले दिएको १ सय १२ रनको लक्ष्य नेपालले १५ बल बाँकी रहँदा ४ विकेटको क्षतिमा पूरा गरेको हो । अब शृङ्खलाको अन्तिम तथा निर्णायक खेल भोलि हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *