टीकापुर (कैलाली)।कैलालीका अविन शर्माले यस वर्ष दसैँमा मान्यजनबाट टीका लगाएर प्राप्त गरेको दुई हजार ५० रुपैयाँ अध्ययनका लागि प्रयोग गर्ने योजना बनाएका छन्। कक्षा ७ मा अध्ययनरत शर्माले सो रकम कापी, कलम, चित्रकलाका ‘कलर’ र रङ्गीन पेपर किन्ने तयारीमा छन्।
“पहिले दक्षिणा खानपिन र खुत्रुकेमा राख्थेँ, यसपालि पढाइका सामग्री किन्ने सोच बनाएको छु,” शर्माले भने।
कक्षा ११ की नेहा उपाध्यायले पनि दसैँको दक्षिणा आफूलाई आवश्यक सामग्री किन्न र केही बचत गर्न प्रयोग गर्ने बताइन्। “शिक्षकले कक्षामा दक्षिणा बचतबारे सिकाउनुभयो, त्यसैले म भाइबहिनीलाई पनि बचत गर्न सिकाएकी छु,” उनले भनिन्।
कक्षा ५ की स्मीता धामीले पनि आफ्नो दक्षिणा चित्रकलाका सामान खरिदमा खर्च गर्ने योजना बनाएकी छन्। “चित्रकलामा रुची छ, केही समयदेखि सिक्दै छु। यसपटक आफ्नै पैसाले सामग्री किन्छु,” उनले भनिन्।
यस्तै, विद्यार्थी राकेश विकले भने आफ्नो दक्षिणा आमालाई राखिदिएका छन्। “तिहार आउँदैछ, त्यसबेला आफ्नै पैसाले बहिनीलाई दक्षिणा दिन्छु,” उनले बताए।
दसैँमा धेरै बालबालिकाको हातमा सुकिला नोट पुग्ने हुँदा कतिपयले अनावश्यक खर्च गर्छन्, तर केहीले अध्ययन र सिर्जनात्मक काममा प्रयोग गर्न थालेका छन्।
टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीका अनुसार अभिभावकले चाडपर्वमा पाएको दक्षिणा बचत र उपयोगी काममा खर्च गर्न बालबालिकालाई प्रोत्साहित गर्नुपर्छ।
“लामो बिदालाई रमाइलोका साथै नयाँ सिकाइ र व्यावहारिक सीप विकासमा प्रयोग गर्नुपर्छ,” अवस्थीले भने, “अभिभावकले वातावरण तयार पारिदिए बालबालिकाले पैसाको महत्व र सदुपयोग सिक्नेछन्।”



