देश

हुकुर्थुम गाउँका ४३ घरमा ‘एक घर, एक धारा’

ढोरपाटन (बागलुङ)।बागलुङको बडिगाड गाउँपालिका–२ हुकुर्थुममा ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालनमा आएको छ। बडिगाड गाउँपालिका, नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था र स्थानीयवासीको जनश्रमदानमा बनेको यो आयोजनाबाट गाउँका ४३ घरमा खानेपानीको सुविधा पुगेको हो।

गहते–हुकुर्थुम खानेपानी, स्वच्छता तथा सरसफाइ आयोजनाका अध्यक्ष केशबहादुर कुमालका अनुसार सो योजना रु १५ लाख ६५ हजार नेवा संस्था, रु चार लाख ७२ हजार गाउँपालिका र रु छ लाख चार हजार जनश्रमदानबाट सम्पन्न भएको हो। यसअघि गाउँमा रहेका पाँच सार्वजनिक धाराबाट सबैले पानी प्रयोग गर्नुपर्दा ठूलो कठिनाइ भोग्नुपरेको उनले बताए।

कुमालका अनुसार घर–घरमा धारा बनेपछि स्थानीयको दैनिकी सहज भएको छ। उनले भने, “वर्षौँदेखि खानेपानीको समस्या थियो, अब घरमै पानी झर्न थालेको छ। सरसफाइ गर्न, पशुपालन र तरकारी खेती गर्न पनि सजिलो भएको छ, घण्टौँ लाइन बस्ने बाध्यता अन्त्य भएको छ।”

नेवा संस्थाका कार्यक्रम अधिकृत विनोद कोइरालाले व्यक्तिगत र सार्वजनिक गरी ४५ धारा निर्माण गरिएको जानकारी दिए। उनका अनुसार दुई किलोमिटर टाढा रहेको मरुवाईझ्याल मुहानबाट पाइपलाइनमार्फत पानी ल्याइएको हो।
कोइरालाले भने, “गाउँमा लामो समयदेखि खानेपानीको समस्या थियो। स्थानीयको मागअनुसार गाउँपालिकासँग सहकार्य गरी यो योजना पूरा गरिएको हो।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *