काठमाडौं । यस वर्षको मनसुन बाहिरिने बेलामा पुनः सक्रिय देखिएको छ, जसका कारण दशैं अवधिभर देशभर वर्षाको सम्भावना बढेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालमा मनसुनी वायुको प्रभाव पुनः बढ्ने जानकारी दिएको छ । विशेष गरी असोज १७ गते (एकादशी) देखि वर्षाले देशका विभिन्न भागमा प्रभाव पार्नेछ, जसले दशैंको उमङ्गमा केही असहजता ल्याउन सक्ने देखिएको छ ।
महाशाखाका अनुसार, बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली भारतको ओडिसाबाट जमिनको भू-भागमा प्रवेश गरी मध्य भारततर्फ सर्ने क्रममा छ। यस प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त मनसुनी वायु पुनः प्रवेश गर्ने सम्भावना देखिएको छ । यो नयाँ प्रणालीको प्रभावले असोज १७ (एकादशी) बाट कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म वर्षा हुने सम्भावना छ । यस वर्षको दशैं अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने महाशाखाले जनाएको छ ।
असोज १७ (एकादशी) गते
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराईका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
असोज १८ (द्वादशी) गते
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
असोज १९ (त्रयोदशी) गते
यस दिन महाशाखाले ९ जिल्लामा रेड अलर्ट जारी गरेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा र एक-दुई स्थानमा (अति भारी वर्षा)को सम्भावना रहेको छ । महाशाखाले रुपन्देही, नवलपरासी (सुस्ता पूर्व र पश्चिम), चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही जिल्लामा अति भारी वर्षा प्रक्षेपण गर्दै रेड अलर्ट जारी गरेको हो ।
असोज १९ गतेका दिन नारायणगढ-बुटवल, नारायणगढ-मुग्लिन, पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-नागढुंगा सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । भारी वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउनु अपरिहार्य छ । दशैं मनाउन यात्रामा निस्कनेहरूलाई मौसमको जानकारी लिएर मात्रै यात्रा गर्न र वैकल्पिक मार्ग तथा आवश्यक तयारीका साथ यात्रा गर्न सुझाव दिइएको छ ।




