देश

देशभर ५ हजारभन्दा बढी डेंगु संक्रमित, दशैंमा थप जोखिम

काठमाडौं । यस वर्ष डेंगु संक्रमितको संख्या ५ हजार नाघेको छ। सन् २०२५ को सुरुदेखि हालसम्म ५ हजार १९६ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकले देखाएको छ।

पछिल्लो एक हप्तामै २९४ नयाँ संक्रमित थपिएका छन्। प्रदेशगत विवरणअनुसार गण्डकीमा १,३२७, बागमतीमा १,१९१, लुम्बिनीमा ९११, कोशीमा ७३७, सुदूरपश्चिममा ६२२, कर्णालीमा २९६ र मधेशमा ११२ जनामा संक्रमण देखिएको छ।

स्वास्थ्य विज्ञहरूका अनुसार वास्तविक संक्रमित संख्या सरकारी तथ्यांकभन्दा कैयौं गुणा बढी हुन सक्छ। धेरै बिरामी लक्षणविहीन हुँदा रिपोर्ट नभएको उल्लेख छ।

गत वर्षको तुलनामा यस वर्ष संक्रमण केही कम भए पनि दशैंमा मानिसहरूको आवतजावत बढ्ने भएकाले जोखिम अझै बढ्न सक्ने डा. गोकर्ण दाहालले बताएका छन्।

नेपालमा पहिलोपटक २००४ मा भेटिएको डेंगु पछिल्ला वर्षहरूमा जनस्वास्थ्यका लागि गम्भीर चुनौती बनेको छ। विशेषज्ञहरूका अनुसार अव्यवस्थित शहरीकरण, फोहोर व्यवस्थापन, र पानी जम्ने स्थानहरू डेंगु फैलनका मुख्य कारण हुन्।

डेंगु नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी उपाय ‘खोज तथा नष्ट अभियान’ रहेको विज्ञहरूको सुझाव छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *