काठमाडौँ। सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्त्व बोकेको महाङ्काल मन्दिरको पुनःनिर्माण सुरु भएको छ। काठमाडौँ महानगरपालिकाले टुँडिखेल छेउमा रहेको मन्दिरलाई रु १० करोड पाँच लाख लागतमा पुनःनिर्माण गर्न थालेको हो।
महानगर प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत मन्दिर हिन्दू–बौद्ध आस्था, तान्त्रिक यात्रा र राजकुमारी भृकुटीको कथासँग जोडिएको जानकारी दिँदै यसलाई इतिहास, विश्वास र सांस्कृतिक धरोहरको रूपमा पुनःनिर्माण थालिएको बताए।
विसं २०७२ को भूकम्पपछि पुनःनिर्माण हुनुपर्ने मन्दिर विभिन्न कारणले ढिला भएको थियो। आव २०८०/८१ को बजेट विनियोजनपछि विसं २०८१ असार १९ गतेदेखि काम सुरु गरिएको हो। पुनःनिर्माण २०८४ असार १९ गते सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
५८३.८१ वर्गमिटरमा फैलिएको मन्दिर पुनःनिर्माणपछि भूइँतलामा नौ कोठा, पहिलो तलामा सभाकक्ष र भण्डारण, छानामा परम्परागत बुइँगल र झिँगटी टायल रहनेछ। परम्परागत ढोका–झ्याल, काठको कलात्मकता, हरियाली र पदयात्रा मार्गसहित वातावरण सजिनेछ।
महानगरले यसलाई केवल पुनःनिर्माण मात्र नभई संस्कृतिको पुनःजागरणका रूपमा लिएको जनाएको छ।




