काठमाडौं । चाडपर्वमा घर फर्कन निस्किएका यात्रुहरूले यसपटक पनि उस्तै पीडा भोगिरहेका छन्। सरकारले ‘यात्रु सहज हुन्छन्’ भनेर दिएको आश्वासन सडकमा पुग्दा शून्य सावित भएको छ। गोंगबु बसपार्कदेखि उपत्यकाका विभिन्न टिकट काउण्टरसम्म यात्रुहरूको मुख्य गुनासो एउटै छ— मनपरी भाडा र कालोबजारी। तोकिएको भन्दा १० देखि २० प्रतिशत बढी असुल भइरहेको यात्रुले बताएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी लोकेन्द्रसिंह गुरुका अनुसार, उजुरीपछि बढी भाडा असुल्ने बसलाई ‘होल्ड’ गरिएको छ। तर, यात्रुले तत्कालै भुक्तान गरेको रकम भने सजिलै फिर्ता पाउन सकेका छैनन्। यात्रुको पीडा यतिमै सीमित छैन। भीडको नाममा एउटै सिटमा चारजनासम्मलाई टिकट काटिएको छ। “सिटमा नाम मात्र, बस चढ्दा ठाउँ नै पाइँदैन,” यात्रुहरू भन्छन्।
सार्वजनिक यातायात राष्ट्रिय महासंघका महासचिव भरत नेपालले भने यसलाई औपचारिकता दिने ढंगले, दशैंमा २० प्रतिशतसम्म बढी लिन सकिने प्रावधान रहेको दाबी गरेका छन्। तर यात्रुको भनाइ फरक छ—“इन्धन घट्दा पनि भाडा नघट्ने, चाडपर्वमा झन् चर्को असुल्ने।”
यातायात व्यवस्था विभागले अनलाइन टिकट प्रणालीलाई व्यवस्थित गर्ने घोषणा गरेको छ। तर व्यवहारमा यात्रु अझै लामो लाइनमा, कालोबजारीको चंगुलमा र असुरक्षित यात्राको बाध्यतामा छन्। यता देशमा भएको वेतिथिविरुद्ध आवाज उठाउँदै आएका जेनजी युवाहरु भने यस्तो अवस्थामा चुप लागेर बसेका छन् । उनीहरुले विध्वंश नगरी सचेतनामूलक शान्तिमूलक सन्देश दिदैँ यातायात व्यावसायिकहरुको ध्यानाकर्षन गराउनुपर्ने देखिन्छ । जसका कारण पार्दर्शीता,सहजता र अनुकुलता हुने अनुमान गरिएको छ । सो अभियान शान्तिपूर्वक गरे सबैलाई सहज हुन्थ्यो ।




