काठमाडौँ। एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारलाई देश जिम्मा लगाएर आफू विदेश नभाग्ने बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपालले भक्तपुरको गुन्डुमा आयोजना गरेको ‘बडादसैंको अवसरका खुला भेटघाट’ कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘यो हाहुको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं ? हामीले यो देश बनाउनुपर्नेछ । फेरि संवैधानिक मूलधारमा देशलाई ल्याउँछौं । शान्ति सुशासनमा फर्काउँछौं ।’
वर्तमान सरकार जनताको अभिमतबाट बनेको नभई तोडफोड र आगजनीबाट बनेको ओलीले आरोप लगाए । आफूले कुनै षड्यन्त्र नगरेको भन्दै उनले थपे, ‘यो सरकारले मैले बोलेका कुरा रेकर्ड गरेर बाहिर ल्यायोस् । हिम्मतका साथ प्रकाशित गरोस् । मैले कर्मचारीलाई दिएका निर्देशन, प्रहरीलाई दिएका निर्देशन रेकर्डेड छन्, बाहिर ल्याओस् ।’
उनले आफू अहिले बसेको घर ‘लोकेट’ गरेर आक्रमणको धम्की दिँदा पनि सरकारले सुरक्षा नदिएको गुनासो गरे । ‘अहिले सामाजिक सञ्जालमा केपी ओलीको नयाँ घर लोकेट गरेर हमला गर्न जाऔं भनेर तोकिएको छ, सरकार के हेरेर बसेको छ ?’ उनले भने, ‘सरकार अहिले सुविधा फिर्ता गर्छु, पासपोर्ट रोक्छु, मुद्दा लाउँछु भन्दै छ । असुरक्षामा देश हाल्ने अनि सुरक्षा दिनुपर्छ कि पर्दैन ?’




