देश

माओवादीसँग एकताका लागि समाजवादीको वार्ता टोली, भुसाल संयोजक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताको पहल गर्न वरिष्ठ नेता बेदुराम भुसालको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ।

अध्यक्ष माधवकुमार नेपालले शुक्रबार जारी गरेको अपानिमा अनुसार टोलीमा वरिष्ठ नेता प्रमेश हमाल र उपाध्यक्ष प्रकाश ज्वाला सदस्य रहनेछन्।

वार्ता टोलीलाई “पार्टी एकताका साझा सैद्धान्तिक आधार” तय गरी वार्ता अघि बढाउने कार्यादेश दिइएको छ। ती आधारहरूमा पार्टीको नाम “नेपाल कम्युनिष्ट पार्टी” राख्ने, नेपाली क्रान्ति जनवादी चरण पूरा भइसकेको र समाजवादी चरणमा प्रवेश गरेको मान्यता लिने, नेपाली समाजको मूल अन्तर्विरोधलाई दलाल–नोकरशाही पूँजीपति वर्ग र आम नेपाली जनता बीच रहेको ठान्ने विषय समावेश छन्।

त्यसैगरी, मार्गदर्शक सिद्धान्तका रूपमा मार्क्सवाद–लेनिनवादलाई मान्ने, संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता कायम गर्ने, रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद तय गर्ने र नेपाली विशेषताअनुरूप समाजवादी कार्यक्रम अगाडि बढाउने दृष्टिकोण पनि कार्यदिशामा उल्लेख गरिएको छ।

यसअघि नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकले पनि समाजवादी मोर्चामा रहेका दलसँग एकता गर्न पहल गर्ने निर्णय गरेको थियो।

Apani-51

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *