काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको दीर्घकालीन स्थायित्व र विकासका लागि सबै राजनीतिक दल, नागरिक समाज र नयाँ पुस्ताबीच सहकार्य अपरिहार्य भएको बताएकी छन्। शुक्रबार राजधानीमा जेनजी आन्दोलनपछिको राजनीतिक र सामाजिक अवस्थाबारे आयोजित अन्तरक्रिया कार्यक्रममा भण्डारीले मुलुकको वर्तमान अस्थिरताले आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय सम्बन्धमा समेत चुनौती उत्पन्न गर्न सक्ने चेतावनी दिइन्।
‘सधैं यस्तो अवस्थामा मुलुक रहिरहन सक्दैन। समाधान निकाल्नै पर्छ र यसको स्रोत जनता हुन्,’ उनले भनिन्। भण्डारीले राजनीतिक दलहरूले आफ्नो नीति, दर्शन र कार्यक्रम जनताको मागसँग मेल खानु आवश्यक रहेकोमा जोड दिइन्। उनले दलहरूबीच समन्वय र सहकार्य अभिवृद्धि गर्नु जरुरी रहेको उल्लेख गर्दै भनिन्, ‘पार्टीहरू र विभिन्न आस्थासँग सम्बन्धित समूहबीच छलफल र सहकार्य हुँदा मात्र समस्या समाधान सम्भव छ।’
पूर्वराष्ट्रपतिले देशको अस्थिरताले मित्रराष्ट्रहरूमा समेत चिन्ता सिर्जना गर्न सक्ने चेतावनी दिँदै शान्ति, स्थायित्व र राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिइन्। उनी भन्छिन्, ‘हाम्रो वर्तमान अवस्था बाहिरका मित्र राष्ट्रहरूलाई पनि प्रभाव पार्न सक्छ। त्यसैले शान्ति र स्थायित्वका लागि सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ।’ भण्डारीले दलका नेताहरूको कार्यशैलीप्रति पनि आलोचना गर्दै भनिन्, ‘नेताहरूले बाहिर धेरै बोल्छन् तर पार्टीभित्र केही गर्न सक्दैनन्। जनताको भावना बुझेर त्यसलाई कार्यान्वयन गर्नुपर्छ।’ उनले नयाँ पुस्ताको मनोविज्ञान, माग र आकांक्षा बुझेर त्यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै सबै जिम्मेवार नागरिकहरूलाई साझा प्रयासमा अघि बढ्न आह्वान गरिन्।




