काठमाडौँ। जेनजी आन्दोलनका अभियन्ता मिराज ढुंगानाले आज प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा भेट गरेका छन् । प्रधानमन्त्री निवासमा भएको भेटलाई अनौपचारिक भनिएको छ ।
ढुंगाना जेनजी आन्दोलनको तयारी क्रममा सामाजिक सञ्जालमार्फत सक्रिय देखिए पनि आन्दोलन सुरु हुनुअघि व्यवसायी दुर्गा प्रसाईंलाई भेट्न गएपछि विवादमा तानिएका थिए । उनले प्रसाईंलाई आन्दोलनमा नआउन आग्रह गर्न पुगेको स्पष्टीकरण दिएका थिए ।
आन्दोलनका प्रमुख दिनहरू २३ र २४ भदौमा भने ढुंगाना सडकमा देखिएनन् । युवाबाट धाकधम्की पाएकाले ननिस्किएको र त्यस समयमा आफ्नो व्यवसायमा व्यस्त रहेको उनको भनाइ छ । ढुंगाना फूलको व्यवसायमा संलग्न छन् ।
उता, आन्दोलनका क्रममा सुधन गुरुङ अघि बढ्दै ‘जेनजी लिडर’का रुपमा चर्चामा आए । उनी सैनिक मुख्यालयदेखि शीतलनिवाससम्म सक्रिय देखिएका थिए । यस्तै कारण ढुंगाना ओझेलमा परेको र गुरुङमाथि आन्दोलन हाइज्याक गरेको आरोपसमेत लाग्ने गरेको छ ।
आन्दोलनपछि सार्वजनिक रूपमा कम सक्रिय भएका ढुंगाना अहिले फेरि देखिन थालेका छन् । यही क्रममा उनले आज प्रधानमन्त्रीसँग भेटेर विभिन्न विषयमा अनौपचारिक छलफल गरेका स्रोतले जनाएको छ ।




