देश

नेपालमा भेटिए छेपारोका दुई नयाँ प्रजाति

काठमाडौँ। नेपालमा छेपारोका दुई नयाँ प्रजाति फेला परेका छन् । संरक्षणकर्मीहरूको एक टोलीले मकवानपुर र सिन्धुली जिल्लामा ती प्रजाति पत्ता लगाएको हो ।

माउसुली परिवारअन्तर्गत पर्ने यी छेपारो मकवानपुरको मकवानपुरगढी र सिन्धुलीको हरिहरपुर क्षेत्रमा भेटिएका हुन् । दुवै प्रजातिलाई ‘मकवानपुरगढी वेन्ट–टोड गेक्को’ र ‘चुरे वेन्ट–टोड गेक्को’ नामकरण गरिएको छ ।

मुख्य अनुसन्धानकर्ता तथा फेडेरेसन युनिभर्सिटी अष्ट्रेलियामा विद्यावारिधि अध्ययनरत सन्तोष भट्टराईका अनुसार नयाँ प्रजातिको विवरण अन्तरराष्ट्रिय जर्नल जुकिज मा दुई दिनअघि प्रकाशित भइसकेको छ । भट्टराईले गत वर्ष पनि यस्तै तीन प्रजाति पहिचान गरी नामकरण गरेका थिए ।

उनका अनुसार यी प्रजाति चुरे (सिवालिक) पर्वतश्रृंखलामा फेला परेका हुन्, जुन जैविक विविधतामा समृद्ध भए पनि अझै कम अध्ययन गरिएको क्षेत्र मानिन्छ । यसै क्रममा नेपालमा भेटिएका गेक्कोनिडे परिवारअन्तर्गतका प्रजातिको संख्या सात पुगेको छ, जसमा पाँचवटा भट्टराईको टोलीले नै पहिचान गरेको हो ।

अनुसन्धानमा नेपालका संरक्षणकर्मी सन्तोष भट्टराई, विवेक गौतम, विशाल न्यौपाने, भारतका अक्षय खान्देकर, तेजस ठाकरे, इशान अगर्वाल तथा अष्ट्रेलियाका आश ओल्सन, फिओना होगन र वेएन्डी राइट सहभागी थिए ।

वरिष्ठ संरक्षणकर्मी करण शाहका अनुसार यो माउसुली परिवारको छेपारो किरा, फट्याङ्ग्रा जस्ता बाली नोक्सान गर्ने जीव खाएर कृषिमा सहयोग गर्ने, अन्य जनावरहरूको आहारा बन्ने र औषधीय महत्वसमेत राख्ने प्रजाति हो ।

गत वर्ष फेला परेका तीन प्रजातिमध्ये एउटा शाहकै नाममा ‘करण वेन्ट–टोड गेक्को’ राखिएको थियो, उहाँको उभयचर–सरीसृप संरक्षणमा योगदानलाई सम्मान गर्ने उद्देश्यले ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *