देश

नेतृत्वको अपमान होइन, सम्मानसहित पुनर्गठन आवश्यक’ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी र समग्र कम्युनिस्ट आन्दोलनलाई नयाँ चेतनासहित पुनर्गठन गर्ने बेला आएको बताएका छन्। उनले पुनर्गठनलाई नेतृत्वमाथिको अपमान होइन, सम्मानका साथ नयाँ संरचना निर्माणको आवश्यकता भनेर व्याख्या गरेका छन्। लामो लिखित र भिडियो सन्देशमार्फत भट्टराईले हालको संकटले ल्याएको बदलिएको परिस्थितिलाई आत्मसात गर्दै एमालेलाई नयाँ सोचसहित पुनर्गठन गर्नुपर्ने धारणा सार्वजनिक गरे। उनले भने, “इतिहासको बेवास्ता वा नेताहरूको अपमान गरेर होइन, उहाँहरूको सम्मानसहित पुनर्गठन गर्नुपर्छ।”

उनले भदौ २३ को जेन–जी आन्दोलनलाई राजनीतिक सत्ता र संरचनामा ऐतिहासिक मोड ल्याउने घटना भन्दै त्यसको सन्देश ग्रहण गरेर बहुआयामिक रूपान्तरण गर्नुपर्ने बताए। तर भदौ २४ को हिंसा र तोडफोडले आन्दोलनलाई बदनाम बनाएको भन्दै घटनाको सत्यतथ्य छानबिन अनिवार्य रहेको उनको भनाइ छ।

भट्टराईले आन्तरिक आत्मालोचना, कमजोरीको स्वीकारोक्ति र सामूहिक निर्णयमार्फत मात्रै पार्टीलाई बचाउन सकिने उल्लेख गर्दै भने, “आन्दोलन रह्यो भने नेतृत्व र इतिहासको सम्मान रहन्छ। पुनर्गठनलाई अपमानका रूपमा चित्रण गर्नेहरू नै वास्तवमा नेतृत्वको सम्मानका बाधक हुन्।”

उनको सन्देशले एमालेभित्र पुनर्गठनको बहसलाई अझ चर्काउने देखिएको छ, जहाँ पुरानो नेतृत्वको सम्मान र नयाँ पुस्ताको प्रवेशबीच सन्तुलन कसरी गर्ने भन्ने प्रश्न केन्द्रीय बन्दै गएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *