चितवन। जिल्लामा लगाइएका धानबालीमा मरुवा रोग फैलिएको पाइएको छ। कृषि विकास कार्यालयका अनुसार अधिकांश खेतमा यस रोगको समस्या देखिएको हो।
बाली विकास अधिकृत गीता केसीका अनुसार दैनिक ७ देखि १० जना किसानले धानमा देखिएको रोगको समस्या लिएर कार्यालयमा सम्पर्क गर्ने गरेका छन्। ढुसीका कारण लाग्ने यो रोग नियन्त्रणका लागि खेतमा पानी जमाएर राख्नुपर्ने सुझाब उनले दिएकी छन्।
“मरुवा रोग लाग्दा धानको पातमा स–साना सेता टीकाबीच लाम्चिला खैरा धब्बा देखिन्छन्। कहिलेकाहीँ बालादेखि डाँठ र आँख्लासम्म खैरो दाग पनि फैलिन्छ,” अधिकृत केसीले जानकारी दिइन्।
रोग देखिएमा नजिकको कृषि विकास कार्यालयमा सम्पर्क गर्नुपर्ने र ढुसी प्रतिरोध गर्ने जातका धान खेती गर्नुपर्ने उनको सुझाव छ।
जिल्लामा यस वर्ष २७ हजार २०७ हेक्टर क्षेत्रमा धान रोपिएको छ। रोग, कीरा र बुढो बिउ रोप्नुपर्ने बाध्यताका कारण गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा कमी आउने अनुमान गरिएको कृषि विकास कार्यालयले जनाएको छ।




