कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडी गाउँ नजिकै अनौखी खोलामाथि बनेको झोलुङ्गे पुल हाल रंगीबिरंगी झण्डा र सजावटका कारण नयाँ पर्यटक गन्तव्य बनेको छ। पुलमाथि सजावट भएपछि दैनिक सयौँ आन्तरिक पर्यटक तथा फोटोग्राफी प्रेमी त्यहाँ पुग्ने गरेका छन्।
कृष्णपुर–१ का कबिन्द्रसिंह धामीले आफ्नै खर्चमा करीब २० हजार रुपैयाँ लगानी गरेर पुल सजाएका हुन्। कैलालीको गोदावरी पुलमा फोटोग्राफी गरेर जीविकोपार्जन गर्दै आएका धामीले आफ्नै गाउँ नजिकैको अलपत्र पुललाई पर्यटक आकर्षण बनाउने उद्देश्यले सजावट गरेको बताए।“पहिले साधारण देखिने पुल अहिले फोटोग्राफी र घुम्न आउनेहरूको गन्तव्य बनेको छ,” धामीले भने, “यसले गाउँको सुन्दरतालाई पनि थप उजागर गरेको छ।”धामीको अर्को योजना नजिकैको पक्की पुललाई समेत रङ्गीन झण्डा र सजावटले आकर्षक बनाउने रहेको छ।
पुल सजिएपछि गाउँमा नयाँ उत्साह आएको स्थानीय रामबहादुर साउद बताउँछन्। उनका अनुसार पर्यटक आउन थालेपछि गाउँमा फलफूल र खाद्य सामग्रीको बिक्री बढेको छ र स्थानीयको आम्दानीमा पनि वृद्धि भएको छ।“अलपत्र अवस्थामा रहेको पुल अहिले गाउँको पर्यटन विकासको आधार बनेको छ,” साउदले भने।
मोबाइलमा फोटो खिच्दै भेटिएका टेकबहादुर साउदले भने, “पहिले हाम्रो गाउँ सामान्य मात्र थियो, तर अब पुलले नयाँ पहिचान दिएको छ। फोटो खिच्ने मात्र होइन, रमाउन आउनेहरूको पनि भीड लाग्छ।”
करिब एक दशकअघि गाउँलाई जोड्ने उद्देश्यले बनाइएको झोलुङ्गे पुल नजिकै पक्की मोटरेबल पुल बनेपछि प्रयोगमा आउन छाडेको थियो। नगरपालिकाले अन्यत्र सार्ने चासो नदेखाएपछि अलपत्र अवस्थामा रहेको पुल युवाको पहलमा पुनः आकर्षण बनेको हो।




