काठमाडौं । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले आफ्नो मन्त्रालयसँग सम्बन्धित गुनासो,सुझाव, समस्या भए पठाउन आग्रह गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो जिम्मामा रहेका तीन मन्त्रालयसँग सम्बन्धित गुनासा, समस्या र सुझाव पठाउने शैलीबारे पनि जानकारी दिएका छन् ।
उनले जेनजीले खोजेको पारदर्शिता, जवाफदेहिता र उत्तरदायी सरकारी संयन्त्र निर्माणमा प्राथमिकताका साथ लागिरहेको दाबी गरेका छन् ।
‘जेनजी पुस्ताले खोजेको पारदर्शिता, जवाफदेहिता र उत्तरदायी सरकारी संयन्त्र निर्माणमा हामी अहिले प्राथमिकताका साथ लागिरहेका छौँ’, उनले भनेका छन्, ‘एकातिर निर्वाचन गराउनुपर्ने प्रमुख दायित्व हाम्रासामु छ भने अर्कातर्फ क्षतिग्रस्त सार्वजनिक संस्थाको पुनर्निर्माण उत्तिकै महत्त्वपूर्ण छ। नेपाली जनताले ठूलो आशा, भरोसा गरेको सरकारले दिगो विकासका लागि बलियो आधार निर्माण गर्नुपर्ने समय पनि यही हो।’
तीनवटा मन्त्रालयका काम/कारबाहीको जिम्मेवारीका कारण व्यस्तता रहेकाले नागरिकले खोजेको समयमा भौतिक रूपमा वा फोनमा समेत उपलब्ध हुन नसकेको जानकारी पनि उनले गराएका छन्।
मन्त्री घिसिङले आफूले सम्हालिरहेका तीन मन्त्रालयसँग कुनै गुनासा, समस्या वा सुझाव भए पठाउन अनुरोध पनि गरेका छन्। यसका लागि यस्तो शैली अपनाउन उनले भनेका छन्।
१) आफ्नो पूरा नाम, ठेगाना (गाँँउपालिका/नगरपालिका/महानगरपालिका) र सम्पर्क नम्बर स्पष्ट लेख्नुहोस्।
२) सन्देशको सार संक्षेपमा (१–२ वाक्य) र आवश्यक सपोर्टिङ कागजात/फोटो भए संलग्न गर्नुहोस्।
३) अत्यन्त जरुरी भएमा सन्देशको सुरुवातमा अर्जेन्ट/अत्यन्त जरुरी उल्लेख गर्नुहोस् ताकि सहकर्मीहरूले प्राथमिकता दिन सकून्।




