भोजपुर। जिल्लामा प्राणघातक रेविज रोग नियन्त्रणका लागि निःशुल्क खोप अभियान सञ्चालन गरिएको छ। भेटेरेनरी अस्पताल तथा सेवा विज्ञ केन्द्रको आयोजनामा असोज ६ गतेदेखि सुरु भएको अभियान असोज १२ गतेसम्म चल्नेछ।
केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार गाउँघरमा रहेका घरपालुवा कुकुर तथा विरालोलाई लक्षित गर्दै खोप लगाउने कार्य भइरहेको छ। “रेविज नियन्त्रणका लागि निःशुल्क खोप अभियान सञ्चालन गरेका छौँ। यसमार्फत सम्पूर्ण घरपालुवा कुकुर र विरालोलाई खोप दिने लक्ष्य छ,” उनले बताए।
अभियान शुरु भएयता दैनिक १५ देखि २० वटा कुकुर र बिरालोलाई खोप लगाइँदै आएको छ। कार्यालयका अनुसार रेविज रोग उन्मूलनका लागि हरेक वर्ष नियमित रुपमा यस्तो खोप अभियान सञ्चालन हुँदै आएको छ।




