काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणालीमा आएको प्राविधिक समस्याले बिहीबार बिहानैदेखि हजारौं प्रयोगकर्ता फोन सेवाबाट वञ्चित भएका छन्। समस्या आउनासाथ पोस्टपेड र प्रिपेड दुवै सेवामा ‘वान–वे’ अवस्था सिर्जना भएको थियो, जसका कारण करिब आठ घण्टासम्म धेरै ग्राहक आउटगोइङ कल गर्न सकेनन्।
टेलिकमका एक वरिष्ठ इन्जिनियरका अनुसार हरेक महिनाको १५ गते पोस्टपेड बिलिङ प्रक्रिया सञ्चालन हुन्छ। यही क्रममा देखिएको त्रुटिका कारण कतिपय प्रयोगकर्ताको ब्यालेन्स उपलब्ध भए पनि कल अवरुद्ध भएको हो।
प्रवक्ता रविन्द्र मानन्धरले समस्या मध्यरातदेखि सुरु भएको र अहिले समाधान भइसकेको जानकारी दिए। उनले भने, “अनलाइन चार्जिङ सिस्टममा समस्या आएपछि सेवा प्रभावित भएको हो। अहिले अवस्था सामान्य भइसकेको छ, तर थप प्राविधिक सुधार जारी छ।”
नेपाल टेलिकमको प्रणाली वास्तविक समयमा चार्जिङ गर्ने प्रविधि भएकाले यसमा समस्या आउँदा सेवामा तत्काल प्रभाव पर्ने गर्दछ।




