काठमाडौं। काठमाडौं महानगरपालिकाको शहरी व्यवस्थापन विभागअन्तर्गत यातायात तथा सडक सुरक्षा स्वर्णम योजनाले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय गुणस्तरअनुसारका ट्राफिक कोन र रिट्र्याक्टेबल बार सडकमा राख्न सुरु गरेको छ। यी सामग्रीहरू नेपालमै उत्पादन भएका हुन्।
सहरी योजना आयोगका सहायक विज्ञ अनुकुल निधिका अनुसार, नयाँ कोनको उचाइ ९००–१,००० मिलिमिटर र तौल ३–५ केजी छ। राति पनि स्पष्ट देखिने यी कोन र बारले सडकमा अनुशासन कायम राख्ने र बाइक चालकले कोन हटाउने प्रवृत्ति रोक्ने अपेक्षा गरिएको छ।
यसैसँग, १,२५० सेट खरिद गरिएको छ, जसमा २५ सय कोन र १,२५० बार छन्। पहिलो चरणमा सिंहदरबार–भद्रकाली, सिंहदरबार–माइतीघर र पद्मोदय मोड क्षेत्रमा प्रयोग सुरु गरिएको छ। विशेषगरी भद्रकाली–सिंहदरबार मार्गमा कोन राख्दा विपरीत दिशाबाट आउने सवारीको चाप न्यूनीकरण हुनेछ र लेन सञ्चालन सहज हुनेछ।
कार्यक्रम काठमाडौं महानगरपालिका, उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्राविधिक टिमको सहकार्यमा सम्पन्न भएको हो। निधिका अनुसार ट्राफिक व्यवस्थापनमा डेटा-आधारित वैज्ञानिक दृष्टिकोण, आधुनिक प्रविधि र स्थलगत व्यवस्थापन आवश्यक रहेको छ।




