कर्णाली प्रदेश

कर्णालीमा दसैं, तिहार र छठमा ड्रोनसहित ३ हजार ९०८ प्रहरी परिचालन

काँक्रेविहार (सुर्खेत)। दसैं, तिहार तथा छठ पर्वमा सुरक्षा जोखिमलाई ध्यान दिँदै कर्णाली प्रदेशमा ३ हजार ९०८ जना प्रहरी परिचालन हुने भएका छन्। प्रदेश प्रहरी कार्यालयले ‘एकीकृत चाडपर्व सुरक्षा कार्ययोजना २०८२’ तयार पारेको छ।

प्रदेश प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक केदार खनालका अनुसार सुरक्षा योजना असोज ६ देखि कात्तिक १० गतेसम्म लागू हुनेछ। योजना अनुसार ३ त्रिपन्न मोबाइल गस्ती, ११२ मोटरसाइकल गस्ती, ९२ द्रुत प्रतिकार्य टोली (क्युआरटी), १७८ पैदल गस्ती र २० लामो तथा छोटो दूरीका गस्ती सञ्चालन गरिनेछ।

सुरक्षा व्यवस्था सुदृढ गर्न १३० स्थानमा पिकेट राखिएको छ भने ९२ स्थानमा नियमित, विशेष तथा आकस्मिक चेकिङ हुँदैछ। ४३ धार्मिक, पर्यटकीय र प्रतिष्ठान क्षेत्रमा प्रहरी खटाइएको छ र यात्रु तथा नागरिकका लागि ४३ सहायता कक्ष स्थापना गरिएको छ। बैंक, वित्तीय संस्था र बजार अनुगमनका लागि ४५ स्थानमा प्रहरी खटाइएको छ।

सुरक्षा योजना अन्तर्गत संवेदनशील क्षेत्रमा ड्रोनबाट निगरानी हुने छ। खाद्यान्न र अत्यावश्यक वस्तुको कृत्रिम अभाव वा कालोबजारी रोक्न अनुगमन र आपूर्ति व्यवस्थापन पनि गरिने जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *