देश

यमबुद्ध स्केटपार्क : तीन वर्षको संघर्षपछि निर्माण आधा पूरा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले लामो प्रतीक्षापछि ‘यमबुद्ध स्केटबोर्ड पार्क’ निर्माणलाई मूर्त रूप दिन थालेको छ। महानगर प्रमुख बालेन्द्र शाह (बालेन) का अनुसार काठमाडौँ–५ मा १३ रोपनी सरकारी जग्गामा सुरु भएको पार्कको करिब आधा काम सम्पन्न भइसकेको छ।

बालेनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भने, “मेयर बनेको सुरुदेखि नै सबैलाई समेट्ने सहर निर्माण हाम्रो लक्ष्य थियो। त्यसकै हिस्सा स्वरूप युवाको चाहना अनुसार स्केटपार्क बनाउन थालेका हौँ।”

यसअघि बजेट छुट्टिए पनि जग्गा नपाएर निर्माण अड्किएको थियो। सुरुवाती योजना वडानं। १६ मा भए पनि तत्कालीन वडा अध्यक्ष मुकुन्द रिजालको निधनपछि प्रक्रिया रोकिएको हो। त्यसपछि अन्य दुई स्थानमा पनि प्रयास भए तर नेपाल सरकारले जग्गा उपलब्ध गराउन नसकेपछि काम अघि बढ्न सकेको थिएन।

अन्ततः वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापति र स्थानीयको पहलमा १३ रोपनी सरकारी जग्गा संरक्षण गरेर पार्क निर्माण २०८१ जेठ २९ गतेबाट सुरु भएको हो।

शाहका अनुसार, यो पार्क केवल खेलमैदान मात्र नभई युवाको संस्कृति, कला र सङ्गीतलाई अभिव्यक्ति दिने तथा परिवारमैत्री सामुदायिक स्पेसका रूपमा पनि उपयोगी हुने छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *