ढोरपाटन (बागलुङ)। पहिरोले अवरुद्ध बनेको बागलुङ–बलेवा–कुश्मिसेरा सडक तीन महिनापछि बुधबारदेखि सञ्चालनमा आएको छ। वर्षाका कारण करिब १०० मिटर सडक भाँसिएपछि असारदेखि बन्द रहेको सडक खोल्न डोजरसहितका उपकरण प्रयोग गरिएको थियो।
सडक बन्द हुँदा बागलुङ नगरपालिका–१० गलुवा, भकुण्डे, वडा नं १३ पैयुँपाटा र वडा नं १२ अमलाचौरका हजारौँ नागरिकले आवतजावतमा समस्या भोग्नुपरेको थियो। बलेवा क्षेत्रबाट सदरमुकाम बागलुङ बजार पुग्न सामान्यतया २० मिनेट लाग्ने भए पनि पहिरोका कारण दुई घण्टा घुमाउरो बाटो प्रयोग गर्नुपर्थ्यो।
पूर्वाधार विकास कार्यालय बागलुङले पहिरोको अवस्था बुझेर तत्काल सञ्चालनका लागि गण्डकी प्रदेशभौतिक पूर्वाधार विकास मन्त्रालयमा लागत अनुमानसहित स्वीकृति पठाएको छ। सूचना अधिकारी एवं इञ्जिनियर अनिल बर्देवाले भने, “वर्षा कम भएपछि दुई दिनसम्म जनशक्ति र उपकरण प्रयोग गरी सडक खुलाइएको हो, लागत अनुमानको स्वीकृति अझै बाँकी छ।”
उपप्रमुख राजु खड्काका अनुसार विगत तीन वर्षमा पहिरो व्यवस्थापनमा करोडौँ खर्च भइसकेको छ। चालु आर्थिक वर्षमा यसका लागि सङ्घीय सरकारले तीन करोड विनियोजन गरेको छ। पहिरोका कारण बागलुङ–कुश्मिसेरा सडक बन्द हुँदा स्थानीय किसानले दूध र तरकारी बजारसम्म पुर्याउन कठिनाइ भोग्नु परेको थियो।




