वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालय मातहतका एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहमा १७९ वटा चारपाङ्ग्रे सवारीसाधन भन्सार जाँचपासको प्रतीक्षामा छन्।
भन्सार कार्यालयका प्रमुख प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार एकीकृत जाँचचौकीमा ७५ र सुक्खा बन्दरगाहमा १०४ सवारीसाधन रहेका छन्। करिब २० सवारीसाधनको जाँचपास प्रक्रिया सुरु भइसकेको र बाँकी सवारीसाधन पनि क्रमशः प्रक्रिया अघि बढ्दै जाने कार्यालयले जनाएको छ।
ज्ञवालीका अनुसार आयातकर्ताले चाडपर्व लक्षित गरेर सवारीसाधन जाँचपास प्रक्रिया अघि बढाइरहेका छन्। चालु आवको दुई महिनामा वीरगञ्ज नाकाबाट सात अर्ब १६ लाख रुपैयाँ मूल्यका सवारीसाधन र पार्टपुर्जा आयात भएका छन्।
गत आवको तुलनामा सोही अवधिमा आयात एक अर्ब ७५ करोड रुपैयाँले बढी भएको कार्यालयले जनाएको छ। गत आवको दुई महिनामा पाँच अर्ब २५ करोड मूल्यका सवारीसाधन र पार्टपुर्जा आयात भएका थिए।




