देश

शिक्षामन्त्री पुनको प्रेरणादायी शन्देश : मन्त्रालयमैँ बसेर काम गर्न सकिन्छ , मन्त्री क्याटर नै अनिवार्य छैन्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदभार ग्रहणको पहिलो दिन मन्त्रालयमै खाना पकाएर खाने, ओछ्यान बिछ्याएर सुत्ने र त्यहीँबाट काम गर्ने घोषणा गर्दा उनको सन्देश चाँडै चर्चामा आयो। साधारण जीवनशैलीको प्रतिबिम्ब जस्तो देखिने यो अभिव्यक्तिले तत्काल त जनतालाई उत्साहित तुल्यायो। तर गहिरो विश्लेषण गर्दा यसले शिक्षा सुधारको वास्तविक आवश्यकता छोप्ने खतरा पनि बोकेको छ।

पुनले स्पष्ट रूपमा भने, “म मन्त्री हुँदैमा सबै सुधार हुन्छ भन्ने छैन, म भगवान होइन।” यो वाक्यले उनको आत्मसजगता झल्काउँछ तर आलोचकहरू भन्छन्—सुधार केवल व्यक्तिगत सादगीले सम्भव हुँदैन, बरु दीर्घकालीन योजना, नीतिगत प्रतिबद्धता र संस्थागत सुधारले मात्र सम्भव हुन्छ।

शिक्षा मन्त्रालय अहिले जटिल संकटमा छ— पाठ्यक्रमको असंगति, अनुसन्धानमा न्यून लगानी, विश्वविद्यालयको राजनीतिकरण र कार्यान्वयनमा कमजोरीजस्ता समस्या दीर्घकालदेखि निरन्तर छन्। यस्तो अवस्थामा मन्त्री पुनको पहिलो अभिव्यक्ति ‘मन्त्रालयमै बस्छु’ भन्ने शैलीमा सीमित हुँदा यसलाई ठोस सुधार कार्यक्रमभन्दा पनि लोकप्रिय नारा मान्नेहरू धेरै छन्।

यद्यपि उनले विज्ञान, प्रविधि र अनुसन्धानलाई प्राथमिकतामा राख्ने बताएका छन्, तर ठोस योजना तत्काल प्रस्तुत गर्न नसक्नु उनको तयारीबिनाको अवस्थालाई देखाउँछ। “योजना अहिले छैन” भन्ने स्वीकारोक्तिले नीति निर्माणमा उनले अझै लामो गृहकार्य गर्नुपर्ने स्पष्ट हुन्छ।

विश्लेषकहरू भन्छन्—‘मन्त्रीकै क्याटर अनिवार्य छैन’ भन्ने उनको विचार सही भए पनि त्यसलाई संस्थागत सुधार, परिणाममुखी नीति र प्रभावकारी स्रोत व्यवस्थापनले मात्रै सार्थक बनाउन सक्छ। नत्र, यो उद्घोष ‘प्रेरणादायी तर असल कार्यान्वयनविहीन’ नारा बन्ने सम्भावना उत्तिकै छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *