देश

केन्द्रीय समिति भङ्ग गरी महाधिवशेन आयोजक समिति बनाउने माओवादी ‘हेडक्वार्टर’को प्रस्ताव

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विद्यमान केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव अगामी केन्द्रीय समिति बैठकमा लैजाने भएको छ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने प्रस्तावलाई एजेन्डा बनाउने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

उनका अनुसार, बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीको आधिकारिक धारणा बनाउन आवश्यक भएकाले महाधिवेशन तयारी अघि बढाइएको हो। “महाधिवेशनमा जानका लागि मौजुदा केन्द्रीय समिति विघटन गरी अध्यक्षको संयोजकत्वमा आयोजक समिति बनाउने परम्परा रहँदै आएको छ,” प्रवक्ता सापकोटाले स्पष्ट पारे।

यसअघि, विशेष महाधिवेशनसम्बन्धी प्रस्तावमाथि छलफल गर्न पार्टीले यही असोज ८ गते स्थायी समिति बैठक बोलाएको छ भने केन्द्रीय समिति बैठक असोज ९ गते बस्नेछ।

बैठकमा अध्यक्ष दाहालले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्दै पार्टीलाई नयाँ स्वरुपमा अघि बढाउनुपर्ने प्रस्ताव राखेका थिए। पदाधिकारीहरूले आफ्नो धारणा प्रस्तुत गर्दै नेतृत्व हस्तान्तरणसम्बन्धी विचार, विधि र प्रक्रिया बारे प्रारम्भिक छलफल पनि गरेका थिए।

बैठकले घोषित मितिमै प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउन पार्टीको भूमिका सक्रिय बनाउने निर्णय गरेको छ। सरकारले आगामी फागुन २१ गते निर्वाचन मिति तोकेको छ।

यस्तै, बैठकले देशभक्त, लोकतान्त्रिक र अग्रगमन पक्षधर शक्तिहरूलाई वर्तमान परिस्थितिमा एकताबद्ध भएर अघि बढ्न आह्वान गर्ने निर्णय गरेको छ। जेनजी आन्दोलनपछि बढेको पुस्तान्तरणको दबाबलाई समेत बैठकले सम्बोधन गरेको जनाइएको छ।

प्रवक्ता सापकोटाका अनुसार, “जेनजी पुस्ताले उठाएका माग जायज छन्, तर त्यसलाई उपयोग गरेर बनेको विशेष परिस्थितिमा अग्रगमन पक्षधर शक्तिको साझा प्रयास अपरिहार्य छ भन्ने निष्कर्ष बैठकले निकालेको छ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *