देश

हनुमानघाटमा स्रोहश्राद्ध गर्नेको घुइँचो

भक्तपुर। भक्तपुरको पवित्र तीर्थस्थल हनुमानघाटमा आज सोह्रश्राद्ध गर्ने भक्तजनको घुइँचो लागेको छ । आश्विन कृष्णपक्षको अन्तिम दिन पितृहरूको आत्माको मोक्षका लागि पिण्डदान गर्न दर्जनौँ श्रद्धालु भक्तपुरसहित आसपासका क्षेत्रबाट हनुमानघाट आएका हुन् ।

पुरोहित धनेशराज राजोपाध्ययका अनुसार पितृपक्षमा पिण्डदान गर्दा दिवङ्गत आत्माले मोक्ष प्राप्त गर्ने धार्मिक विश्वास छ । “सोह्रश्राद्धमा हनुमानघाट मात्र होइन, मुलुकका विभिन्न नदी र घाटमा पनि पिण्डदान गर्ने परम्परा छ । यसरी गरिने श्राद्धले आफ्ना मात्र नभई दुरदराजका आफन्त र छिमेकीका दिवङ्गत आत्मालाई समेत मोक्ष प्राप्त हुन्छ भन्ने धारणा छ,” उहाँले बताए ।

नेवार समुदायमा सोह्रश्राद्धको विशेष महत्त्व रहेको पुरोहित राजोपाध्ययले बताए । उनका अनुसार यो श्राद्ध नगरी कुलदेवताको पूजा वा भोजन गर्न नहुने धार्मिक मान्यता छ । साथै वर्ष दिनभित्रका कुनै पनि शुभकार्य सुरु गर्नुअघि सोह्रश्राद्ध गर्नु आवश्यक ठानिन्छ ।

त्रिवेणीघाटका रूपमा चिनिने हनुमानघाटमा आज स्नान गरी पिण्डदान गर्नाले पाप नष्ट हुनुका साथै दिवङ्गत आत्माले वैकुण्ठ बास पाउने धार्मिक विश्वास रहेको राजोपाध्ययले जानकारी दिए ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *