विराटनगर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले तत्कालीन सरकारले सुशासन र भ्रष्टाचारका विषयलाई गम्भीरतापूर्वक नलिँदा ‘जेनजी’ प्रदर्शनका क्रममा ठूलो क्षति भएको बताएका छन्।
आज विराटनगरस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले हालसम्म कांग्रेसभित्र नेतृत्व हस्तान्तरणबारे कुनै छलफल नभएको स्पष्ट पारे। कोइरालाले जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे छानबिन गर्नुपर्ने आवश्यकता औंल्याउँदै तत्कालीन अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेलले चाल्नुभएको कदम संविधानसंगत रहेको धारणा राखे।
लोकतन्त्र र प्रजातन्त्रको धरोहर मानिने विराटनगरस्थित कोइराला निवास जलेकामा दुःख व्यक्त गर्दै उनले भौतिक संरचना जले पनि कांग्रेसको इतिहास कहिल्यै नजल्ला भन्ने विश्वास व्यक्त गरे।




