देश

जलेको नोट र पैसा राख्ने सुरुङ भेटिएको समाचार कपोकल्पित: देउवाको सचिवालय

काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले राजनीतिक दलको कार्यालय र नेताहरुको निजी निवासमा भएको आगजनीप्रति गम्भीर आपत्ति जनाउँदै आपराधिक क्रियाकलापमा संलग्नलाई कारबाही गर्न माग गरेको छ।

‘जेनजीको आन्दोलनलाई धमिलो बनाई आ-आफ्नो कुत्सित मनसाय पूरा गर्ने विभिन्न समूहहरूले २४ गते बिहानैदेखि अकल्पनीय ढंगको आतङ्क सिर्जना गर्ने, राजनीतिक दलको कार्यालय र नेताहरूको निजी निवास आक्रमण गर्नेजस्ता अपराधिक क्रियाकलाप भएकोप्रति भर्त्सना गर्दछौं। भदौ २४ गते डकैतीको शैलीमा नेपाली कांग्रेसका सभापतिको निवासमा प्रवेश गरेर सभापति देउवा, उहाँकी धर्मपत्नी केन्द्रीय सदस्य डा. आरजु राणा देउवालगायत माथि सांघातिक आक्रमण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

‘देउवा निवासमा अत्याधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरूङ्ग रहेको’ जस्ता समाचार सम्प्रेषण कपोकल्पित रहेको पनि देउवाको सचिवालयले उल्लेख गरेको छ।

सामाजिक सञ्जालमा देखाइएका दृश्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामकका साथै दुसित मनासयले बदनाम गर्ने उद्देश्यले फैलाइएका हुन्,’ विज्ञप्तिमा भनिएको छ।विज्ञप्तिमा ‘जनमानसमा अपमानित गर्ने मनसायले प्रविधिको गलत प्रयोगबाट विभिन्न ठाउँमा विभिन्न समयका जलेका नोटका दृश्यहरू जोडेर सम्पादित फोटो र भिडियोहरू युट्युब तथा सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको पाइएको छ। यसमा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहन्छौं,’ भनिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *