देश

परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रवादी, गणतन्त्रवादी र परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता औँल्याएका छन् ।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र मात्रै हुने उल्लेख गर्दै संविधान र लोकतन्त्रको संरक्षणमार्फत राष्ट्रको स्वतन्त्रता जोगाउनु सबै नेपालीको साझा कर्तव्य भएको बताए ।

उनले हालैको ‘जेनजी’ आन्दोलनले संविधानको निरन्तरतामा संशोधन र परिमार्जनको आवश्यकता देखाएको उल्लेख गर्दै देशव्यापी पुनर्निर्माणलाई उच्च प्राथमिकताका साथ अघि बढाउन पार्टी पङ्क्ति र जनसमुदायलाई आह्वान गरे । साथै, भदौ २३ र २४ गतेका घटनाबारे स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाही गर्नुपर्ने माओवादी केन्द्रको माग रहेको स्पष्ट गरे ।

अध्यक्ष प्रचण्डले भदौ २३ को आन्दोलनलाई वास्तविक ‘जेनजी’ आन्दोलनका रूपमा उल्लेख गर्दै त्यसलाई लोकतन्त्रविरोधी नभई यथास्थिति र तदर्थ शासन प्रणालीविरोधी तथा उन्नत लोकतन्त्रको पक्षधर आन्दोलनको रूपमा लिनुपर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *