काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक अङ्ग र निकायमा समावेशी सिद्धान्तको पूर्ण कार्यान्वयनका लागि सबै पक्षको सक्रियता र प्रतिबद्धता अपरिहार्य हुने बताएका छन् ।
संविधान दिवस (राष्ट्रिय दिवस) २०८२ का अवसरमा शुभकामना सन्देश दिँदै उनले मौलिक हकको कार्यान्वयन, सङ्घीय संरचनाको सुदृढीकरण, शक्ति–स्रोतको न्यायोचित बाँडफाँट तथा प्रदेश र स्थानीय तहलाई संविधानसम्मत अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड दिए । उनका अनुसार यी प्रयासहरूले सङ्घीय प्रणालीप्रति जनविश्वास कायम गर्न निर्णायक भूमिका खेल्नेछन् ।
उपराष्ट्रपति यादवले संविधानलाई नेपाली जनताको लामो सङ्घर्ष र विविधताको ऐतिहासिक उपलब्धि बताउँदै यसले राष्ट्रिय आकाङ्क्षा, सार्वभौम अधिकार र लोकतान्त्रिक मूल्यहरूको आधार तयार गरेको उल्लेख गरे ।
उनले संविधानको चौकस संरचनाभित्रै रहेर हालको ‘जेनजी’ आन्दोलनको सम्बोधन र अन्तरिम सरकार गठन प्रक्रियाले संविधानको लचकता, समाधानमुखी स्वरूप र समावेशी चरित्रलाई पुनः पुष्टि गरेको बताए ।
संविधानले न्याय, समानता, स्वतन्त्रता र सामाजिक न्यायको मार्गदर्शन गरेको र बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक समाजलाई एकताको सूत्रमा बाँध्दै समृद्ध राष्ट्र निर्माणको आधार तय गरेको उनले स्पष्ट पारे ।
संविधान दिवसका सन्देशमा उनले ऐतिहासिक आन्दोलनका सहिदहरू, ‘जेनजी’ आन्दोलनका क्रममा जीवन आहुति दिने ज्ञातअज्ञात सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा अङ्गभङ्ग भएका प्रति सम्मान र परिवर्तनका अग्रदूतप्रति प्रशंसा व्यक्त गरे ।




