देश

जेनजी प्रदर्शनपछि सुरक्षा कमाण्डमा फेरबदल : काठमाडौं प्रहरी प्रमुख हटाइए

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको गम्भीर सुरक्षा चुकपछि जिल्ला प्रहरी परिसर, काठमाडौंको नेतृत्वमा फेरबदल गरिएको छ।

गृह मन्त्रालयले काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज अधिकारीलाई जिम्मेवारीबाट हटाउँदै प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत एसएसपी रमेश थापालाई नयाँ प्रमुखको रूपमा पठाएको हो। थापाले यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीको कमाण्डसमेत सम्हालेका थिए।

२३ भदौमा भएको जेनजी प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले व्यापक बल प्रयोग गरे पनि स्थिति नियन्त्रणबाहिर गएको थियो। भोलिपल्ट प्रदर्शनकारीहरूले संसद् भवन भित्रै प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए। त्यसपछि सिंहदरबारसहितका संवेदनशील संरचनामा समेत क्षति पुगेको थियो।

सुरक्षा व्यवस्थापनमा देखिएको गम्भीर कमजोरीकै कारण प्रहरी नेतृत्वमा तत्कालीन दिनमै आलोचना भएको थियो, जसको परिणामस्वरूप अब कमाण्ड परिवर्तन गरिएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *