देश

एनआरएनएको चन्दा संकलन ट्राफिक प्रहरीका लागि मात्रै, नेताको घर बनाइदिने हल्ला असत्य

काठमाडौँ। जेन–जी आन्दोलनका क्रममा क्षति पुगेको उपत्यकाको ट्राफिक प्रहरीको सिसिटिभी नियन्त्रण कक्ष र निगरानी प्रणाली पुनःनिर्माण गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)ले चन्दा संकलन सुरु गरेको छ। संघले यो अभियानलाई सडक सुरक्षासँग प्रत्यक्ष जोडिएको भन्दै सार्वजनिक हितका लागि मात्रै चलाइएको दाबी गरेको छ।

यसअघि केही सञ्चारमाध्यममा संघका अध्यक्ष महेश श्रेष्ठले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको घर बनाउन चन्दा संकलन गरेको भनी समाचार प्रकाशित भएको थियो। तर, संघले विज्ञप्ति जारी गर्दै त्यो दाबीलाई निराधार र भ्रामक बताएको छ। संघका प्रवक्ता गंगाधर गौतमले, “संकलित रकम पहिलो चरणमा सडक सुरक्षा संयन्त्रलाई सहयोग गर्नेगरी सम्बन्धित निकायसँग समन्वय भइरहेको छ,” भनेर स्पष्ट पारेका छन्।

संघका अध्यक्ष श्रेष्ठले करिब ७४ लाख रुपैयाँ संकलन गर्ने लक्ष्यसहित ‘उपत्यकाको ट्राफिक प्रहरी सिसिटिभी नियन्त्रण कक्ष पुनःनिर्माण अभियान’ अगाडि बढाइएको जानकारी दिए। यो अभियानको औपचारिक घोषणा शनिबार बस्ने संघको कार्यसमिति बैठकपछि गरिने उनको भनाइ छ। श्रेष्ठले आफूविरुद्ध ‘विरोधी समूहले गलत प्रचार चलाइरहेको’ भन्दै आरोप खण्डन गरे। उनले भने, “हाम्रो योगदान विशुद्ध सार्वजनिक हितका लागि हो। सडक सुरक्षा बलियो हुनु देशको शान्ति सुरक्षासँग प्रत्यक्ष जोडिएको कुरा हो। कुनै नेता वा व्यक्ति विशेषको घर बनाउन रकम संकलन गरिएको भन्ने हल्लामा कतै पनि सत्यता छैन।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *