विश्व

ठुलो दुर्घटनाबाट जोगियो ट्रम्पको एयर फोर्स वन

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आधिकारिक विमान एयर फोर्स वन मङ्गलवार ठुलो दुर्घटनाबाट जोगिएको छ। लन्डनको राजकीय भ्रमणमा जाँदै गर्दा न्यूयोर्कको आकाशमा एयर फोर्स वन अर्को यात्रुवाहक विमानसँग निकै नजिकिएको थियो। हवाई यातायात नियन्त्रकहरूले समयमै यात्रुवाहक विमानलाई सचेत गराएपछि ठुलो दुर्घटना हुनबाट टर्यो।

राष्ट्रपति ट्रम्प त्यस दिन राजकीय भ्रमणका लागि लन्डन प्रस्थान गरेका थिए। त्यतिबेला एयर फोर्स वन न्यूयोर्कको आकाशमा थियो। उता, फोर्ट लाउडरडेलबाट बोस्टनतर्फ उडिरहेको स्पिरिट एयरलाइन्सको एयरबस A321 लङ आइल्याण्ड माथि पुगेको थियो। दुवै विमान एउटै उचाइमा र एउटै उडान मार्गमा रहेका कारण जोखिम बढेको थियो।

नियन्त्रकहरूले यो स्थिति देखेपछि तुरुन्तै स्पिरिट एयरलाइन्सको विमानका पाइलटलाई सचेत गराउन थाले। त्यतिबेला दुई विमानबीचको दूरी केही माइल मात्र थियो। प्रारम्भिक चेतावनीमा कुनै प्रतिक्रिया नआएपछि नियन्त्रकले दुई–तीन पटक संदेश दोहोर्याए। अन्ततः पाइलटहरूले सन्देश सुनेर बाटो परिवर्तन गरे र सम्भावित ठुलो दुर्घटना टर्यो।

घटनासँग सम्बन्धित भनिएको एक अडियो रेकर्डिङ अहिले सामाजिक सञ्जालमा फैलिएको छ। तर, त्यो अडियो यही घटनाकै हो भन्ने कुरा आधिकारिक रूपमा पुष्टि भइसकेको छैन। अडियोमा नियन्त्रकले “स्पिरिट 1300, 20 डिग्री दायाँ घुम्नुहोस्” भनेर निर्देशन दिएको सुनिन्छ। पहिलो दुई पटक चालक दलले जवाफ नदिए पनि तेस्रो पटकपछि उनीहरूले निर्देशन पालना गरेका थिए। त्यतिबेला दुई विमान करिब ६–७ माइलको दूरीमा मात्र रहेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *