कर्णाली। कर्णाली प्रदेशमा भदौ २४ गतेको जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको आगजनी तथा तोडफोडबाट सरकारी र निजी गरी १९ वटा संरचना पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार क्षतिग्रस्त संरचनामा कर्णाली प्रदेशसभा, नापी कार्यालय, प्रदेश कोष तथा नियन्त्रण कार्यालय, मुख्यमन्त्री निवास, वीरेन्द्रनगर नगरपालिका–२, ३, ६ र ११ नं वडा कार्यालय, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र उनका भाई डम्बर खड्काको घर, मुख्यमन्त्री यामलाल कँडेल, वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकाल र उपप्रमुख नीलकण्ठ खनालको घर सामेल छन्।
यस्तै नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का पार्टी कार्यालय पनि पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। जुम्लामा भने कांग्रेस र एमालेका पार्टी कार्यालयमा क्षति पुगेको छ।
प्रहरीका अनुसार प्रदेशभर १९ संरचना पूर्णरूपमा क्षति हुँदा १५ संरचना आंशिक र पाँच संरचना सामान्य क्षतिग्रस्त भएका छन्। ठूला गाडी १४, मोटरसाइकल १२ र एक ट्याम्पुमा क्षति पुगेको छ।
प्रदर्शनका क्रममा १३ सर्वसाधारण र तीन प्रहरी गरी १६ जना घाइते भएको प्रहरीले जनाएको छ। आर्थिक क्षतिको विस्तृत विवरण संकलन भइरहेको बताइएको छ।




