काठमाडौं । वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी ‘कार्यविधि, २०८०’ हाललाई कार्यान्वयन नगर्ने जानकारी गराएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनानुसार विभागले एक विज्ञप्ति जारी गर्दै यो कार्यविधि स्थगित भएको घोषणा गरेको हो ।
मन्त्रालयको यस निर्देशनसँगै अब ‘बिटुबि’ माध्यमबाट ई–७ भिसा प्रणालीमार्फत गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि कार्यान्वयनमा आउने छैन । यसअघि प्रस्तावित कार्यविधिमा ई–सेभन भिसा प्रणाली सञ्चालन मापदण्ड पूरा गरेका वैदेशिक रोजगारको कार्य गर्न अनुमतिप्राप्त नेपाली संस्थाले नेपाली श्रमिक पठाउन सक्ने व्यवस्था थियो ।
ई–७ भिसा विशेष सीप भएका विदेशी दक्ष कामदारका लागि दक्षिण कोरियाले प्रदान गर्ने भिसा हो, जसले उनीहरूलाई कोरियामा काम गर्ने अनुमति दिन्छ । नेपालले उक्त भिसामा जाने श्रमिकका लागि कोरियाली कामदारसरह मासिक करिब तीन हजार अमेरिकी डलर (झन्डै चार लाख नेपाली रुपैयाँ) तलब हुनुपर्ने प्रस्ताव राखेको थियो ।




