गण्डकी ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनी गरी क्षति पुर्याइएका प्रदेशसभा भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतका संरचनाको आज अवलोकन गरेका छन्।
अवलोकनका क्रममा मुख्यमन्त्री पाण्डेले सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउँदै क्षतिग्रस्त संरचनाको मर्मतसम्भार र पुनर्निर्माण गरिने बताए। उनले सुरक्षा निकाय र सेवाग्राही बढी आउने कार्यालयबाट तत्काल नियमित सेवा प्रवाह गर्ने वातावरण तयार गरिने पनि जानकारी दिए।
आन्दोलनमा सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र आगजनीप्रति दुःख व्यक्त गर्दै उनले नेपाललाई कमजोर पार्न खोज्ने तत्त्वले यस्तो विध्वंश मच्चाएको आरोप लगाए। मुख्यमन्त्री पाण्डेले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सबै पक्षबीच एकता र सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्।




