कोशी प्रदेश

मोरङमा आकस्मिक खरिदमार्फत सरकारी संरचना पुनर्निर्माण हुने

विराटनगर। ‘जेनजी’ प्रदर्शनका क्रममा भदौ २४ गते भएको आगजनी र तोडफोडबाट क्षति पुगेका मोरङका सरकारी कार्यालय तथा संरचनाको पुनर्निर्माण आकस्मिक खरिदमार्फत गर्ने निर्णय गरिएको छ।

सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६६ र नियमावलीको नियम १४५ बमोजिम विशेष परिस्थितिमा गर्न सकिने आकस्मिक खरिदको बाटो खोल्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आवश्यक सामग्रीको सूची तयार गरी खरिद प्रक्रिया अघि बढाइनेछ। क्षतिग्रस्त कार्यालयलाई पुनः सञ्चालनमा ल्याउन तत्काल खरिद गर्नुपर्ने भएकाले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई जानकारी दिँदै अघि बढाइने निर्णय भएको उनले बताए।

बैठकले दमकल तत्काल मर्मत गरी सञ्चालनमा ल्याउने, अवरुद्ध भएका आयोजना ढिला नगरी अघि बढाउने, मूल्यवृद्धि र कालोबजारी रोक्न पालिकास्तरमा नियमित अनुगमन गर्ने र अत्यावश्यक वस्तु सहज उपलब्ध गराउने कार्ययोजना बनाएको छ।

प्रजिअ यादवले आन्दोलनबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको र आकस्मिक खरिद प्रक्रियामार्फत शीघ्र पुनर्निर्माण सुरु गर्ने विश्वास व्यक्त गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *