काठमाडौं । देशभरि तीव्ररूपमा फैलिएको जेनजी आन्दोलनले मंगलबार नयाँ मोड लिँदै ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा भीषण आगलागी भयो । आन्दोलन उग्र बन्दै गएपछि आक्रोशित समूहले मन्त्री क्वार्टरमा आक्रमण गरी आगजनी गर्यो ।
सरकारी तथ्यांकअनुसार करिब १ अर्ब ३ करोड रुपैयाँको लागतमा निर्माण गरिएको मन्त्री क्वार्टर आगलागीका कारण पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ । आगोका कारण क्वार्टरमा रहेका अधिकांश भवनहरू, सरकारी सामग्री, संरचनाहरू र महत्वपूर्ण कागजातहरू जलेर नष्ट भएका छन् ।
शत्रुधन साहले भने, ‘यो आन्दोलन जरुरी थियो । युवाहरू रोजगारको अभावमा देश छाडिरहेका छन्, नेताहरू भ्रष्टाचारमा लिप्त छन् । यस अवस्थामा जनआक्रोश स्वाभाविक हो। तर जुन सम्पत्ति जलाइयो, त्यो सरकारी भएपनि हाम्रो हो । त्यसैले यति हिंसात्मक ढंगले जानु ठीक भएन ।’
उनले जेनजी आन्दोलनले देशमा परिवर्तन ल्याएको उल्लेख गर्दै भने, ‘दुई दिन पनि नपुग्दै सरकारले राजीनामा दियो । बंगलादेशमा यस्तो आन्दोलन महिनौंसम्म चल्यो । तर अब नेतृत्व युवाको हातमा जानुपर्छ । देशको सुरक्षा अवस्था कमजोर भएको छ, नयाँ सरकार चाँडै गठन हुनुपर्छ ।’ मन्त्री क्वाटर शान्त रहेपनि नेपाली सेनाको हेलिकप्टर मन्त्रीहरुलाई उद्धार गर्न पुगेपछि आन्दोलनकारी आक्रोशित बनेका थिए ।सुरुमा स्थानीय महिलाहरु नै तोडफोडमा उत्रिएका थिए । पछि आन्दोलनकारीको हुल पुगेपछि सुरक्षाकर्मीहरु समेत पछि हटेका थिए ।
संरचना ध्वस्त बनेको देखेकी ६७ वर्षीया स्थानीय सावित्रा पौडेलले त्रासका बीच भनिन्, ‘यस्तो घटना जीवनमा कहिल्यै देखेकी थिइनँ । अहिले प्रहरी छैनन्, असुरक्षित छौं । नेताहरूको कारण यस्तो भयो भन्ने सुनिन्छ तर अब के हुने हो ? सरकारी सम्पत्ति पनि त हाम्रो हो । सबै जलेर सकियो भने अब हाम्रो बालबच्चाले के खाने, कहाँ बस्ने ?’




