देउखुरी (दाङ)। पछिल्लो समय बासस्थान खलबलिँदा दाङ क्षेत्रमा चराको सङ्ख्या उल्लेख्य रूपमा घट्दै गएको छ । केही प्रजाति लोपोन्मुख अवस्थामा पुगेका छन् भने कतिपय चरा अब गाउँघरमा देखिनै मुश्किल पर्छ ।
घोराही उपमहानगरपालिका–९ निवासी ७२ वर्षीया पार्वता शर्माले अहिलेको अवस्था अघिल्ला दिनसँग तुलना गर्दै भनिन्, “पहिले गाउँमा खर फुसका छाना हुन्थे, चराले त्यसैमा गुड बनाएर बचेरा हुर्काउँथे । बिहान मिर्मिरेमा चराको चिरबिर आवाज गुन्जिँदा छुट्टै आनन्द मिल्थ्यो । तर अहिले त्यो आवाज हराउँदै गएको छ ।”
त्यस्तै, घोराही–६ का ६५ वर्षीय वीरबहादुर चौधरी भन्छन्, “भँगेराको चिरबिर र कोइलीको कुहुकुहु सुन्नै पाइँदैन । पक्की घर बनेपछि गुड बनाउने ठाउँ पाउन नसकेर गौथली, परेवा, मैना जस्ता चरा हराउँदै गएका छन् ।”
चराविज्ञ आनन्द चौधरीका अनुसार रैथाने चराको सङ्ख्या घटिरहेको भए पनि बसाइँसराइ गर्ने तथा आगन्तुक चराको आगमन भने बढ्दो छ । तर, उनीहरूलाई दीर्घकालीन बासस्थान उपलब्ध नगराए संख्या बढ्न सक्दैन ।
उहाँका शब्दमा, “चरा सङ्कटमा पर्नुका कारण बासस्थानको विनाश, जलवायु परिवर्तन र भौतिक पूर्वाधार हुन् । चरा मात्र खतराको सूचक होइनन्, अवसर पनि हुन् । संरक्षणका लागि गम्भीर ध्यान दिनुपर्ने बेला आएको छ ।”
चौधरीले सरकारी निकाय, स्थानीय तह र समुदायबीच सहकार्य गर्दै चरा संरक्षण अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । आगन्तुक चराका लागि बासस्थानको पहिचान, अनुगमन र संरक्षण सुनिश्चित गर्नुका साथै आमनागरिकलाई सचेत गराउनुपर्ने उहाँको भनाइ छ ।




