काठमाडौं । मंगलबारको प्रदर्शनपछि देशभरका कारागार र हिरासतहरूमा ठूलो सुरक्षा संकट निम्तिएको छ। प्रहरीको तथ्यांकअनुसार हालसम्म १३ हजार ५७२ कैदीबन्दी विभिन्न कारागारबाट भागेका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार, कारागार मात्र होइन, अनुसन्धानका क्रममा रहेका ५६० जना थुनुवा हिरासतबाट समेत फरार भएका छन्। प्रहरीले जनाएको छ, जेजनी प्रदर्शनकारीले कारागार र हिरासतमा तोडफोड तथा आगजनी गरेपछि कैदी र थुनुवाहरू बाहिरिएका हुन्।
विशेषज्ञहरूले यो घटनालाई देशको कानून कार्यान्वयन प्रणालीमाथि प्रत्यक्ष चुनौतीको रुपमा लिएका छन्। कैदी र थुनुवा फरार भएपछि सर्वसाधारणको सुरक्षा र शान्ति–व्यवस्था थप कमजोर हुने चिन्ता गरिएको छ।




