काठमाडौं । गण्डकी प्रदेशका मन्त्री विन्दुकुमार थापासम्बद्ध भवनहरूमा आगजनीपछि दुई महिलाको शव भेटिएको छ। मंगलबार राति आन्दोलनकारीले आगो लगाएको पोखरा लेकसाइडस्थित अंशुभरा ग्रुपको कार्यालयमा बुधबार बिहान एक महिलाको जलेको शव फेला परेको प्रहरीले पुष्टि गरेको छ। यसअघि, मन्त्री थापाका भाइ ध्रुव थापाको नयाँबजारस्थित गाडीको शोरूममा पनि जलेको अवस्थामा अर्को महिलाको शव भेटिएको थियो।
प्रहरीका अनुसार दुवै शव पूर्ण रूपमा जलेको अवस्थामा फेला परेका हुन्। मृत्यु भएकाहरूको परिचय खुल्न बाँकी छ।
आन्दोलनकारीद्वारा व्यापारी र नेताका घरमा तोडफोड
मंगलबार साँझदेखि चर्किएको आन्दोलनका क्रममा मन्त्री थापाको निजी घर, अंशुभरा ग्रुप, बगैंचा रिसोर्टलगायत व्यावसायिक प्रतिष्ठानमा तोडफोड, लुटपाट र आगजनी भएको थियो। उनका भाइ ध्रुव थापाको शोरूम र घर पनि आगोमा जलेको छ।
त्यसैगरी, पोखरामा मेयर धनराज आचार्य, नेता राजीव पहारी, भरत पहारीको होटल सरोबर र जितु गुरुङको बरपिपल रिसोर्टमा समेत प्रदर्शनकारीले क्षति पुर्याएका थिए।
ललितपुरमा प्रचण्डकी छोरीको घरमा पनि शव भेटियो । यसैबीच, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घर, ललितपुरको सुनाकोठीमा मंगलबार भएको आगजनीपछि त्यहाँ पनि एक शव भेटिएको प्रहरीले जनाएको छ। पोखरा र ललितपुरमा आगजनीग्रस्त घर र व्यवसायिक भवनमा लगातार शव भेटिन थालेपछि प्रहरीले घटनालाई संवेदनशील मानेर अनुसन्धान थालेको छ। शवहरूको पहिचान र घटनाको वास्तविक कारण पत्ता लगाउन प्रयोगशाला परीक्षण र अन्य अनुसन्धान अघि बढाइएको बताइएको छ।




