देश

डिल्लीबजार कारागारमा अशान्ति : भाग्न खोज्ने कैदीलाई सुरक्षाको निगरानीमा

काठमाडौं । बुधबार बिहान डिल्लीबजार कारागारमा तनावपूर्ण स्थिति सिर्जना भएको छ। केही कैदीबन्दीले गेट भत्काएर बाहिरिन खोजेपछि सुरक्षाकर्मी र कैदीबीच धक्का–मुक्का भएको हो।

प्रहरी स्रोतका अनुसार, कैदीहरूले कारागारभित्र आगजनीको प्रयास समेत गरेका थिए। स्थिति बिग्रन नदिन नेपाली सेनाको टोली तुरुन्तै कारागार पुगेको र भाग्ने प्रयास रोकेको छ।

घटनापछि कारागारबाहिरको सडकमा केही कैदीलाई सेनाले नियन्त्रणमा राखेको छ। उनीहरूले नाराबाजी गरे पनि सुरक्षा निकायले स्थिति नियन्त्रणमा ल्याएको बताइएको छ। कैदी आक्रामक हुँदै गएपछि नेपाली सेनाले केही कैदीलाई अन्यत्र सार्ने भएको छ । बुधबार बिहानभर कैदीहरूले आफूहरू जेलमुक्त हुन पाउनुपर्ने भन्दै  सडकमा निस्किएर नाराबाजी गरेका थिए । उनीहरू बढी आक्रामक भएपछि अन्यत्र सार्न खोजिएको हो । ती कैदीहरूलाई कहाँ लैजान लागेको भन्ने यकिन हुन सकेको छैन ।

पछिल्ला दिनमा मुलुकका विभिन्न कारागारमा कैदीबन्दी भाग्ने वा दंगा गर्ने घटना बढिरहेका बेला डिल्लीबजार कारागारमा भएको यो तनावले अझ गम्भीर सुरक्षा चुनौती देखाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *