काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेकपा एमालेसँग भएको सात बुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता हुन आग्रह गरेका छन्।
महामन्त्रीद्वयले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई तत्काल मन्त्रीहरू फिर्ता नबोलाए वैकल्पिक प्रक्रिया अपनाउने चेतावनी दिएका छन्।
विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गरी नयाँ सहमतिका लागि मार्ग खोल्नुपर्ने मागसमेत गरिएको छ।
थापा र शर्माले जेनजी आन्दोलनलाई “न्यायोचित आवाज” भन्दै युवाहरूका मागहरू गम्भीरतापूर्वक सम्बोधन गर्न सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेका छन्। साथै, आन्दोलन संयमित बनाइ राख्न प्रदर्शनकारीहरूलाई अपिल गरिएको छ।
विज्ञप्तिमा वर्तमान संकटको समाधानका लागि सबै राजनीतिक दलहरूबीच खुला र ईमानदार संवाद आवश्यक रहेको उल्लेख गरिएको छ।




