काठमाडौं। जेन–जी आन्दोलनको क्रममा घाइतेहरूलाई उपचार गर्न भर्ना गरिएको सिभिल अस्पतालमा प्रहरी प्रवेश गरी धरपकड गरेको छ। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरी अस्पताल परिसरभित्रै पुगेको एक स्वास्थ्यकर्मीले जानकारी दिएका छन्।
बानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा घाइते भएकाहरू उपचारका लागि सिभिल अस्पताल ल्याइएका थिए। स्वास्थ्यकर्मीका अनुसार, “प्रदर्शनकारीहरूलाई पछ्याउँदै प्रहरी इमर्जेन्सी भवन अगाडि पुगे र त्यहाँ गोली र अश्रुग्यास प्रयोग गर्यो। चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले नै अश्रुग्यासको असर भोग्नुपर्यो।”
हाल प्रहरी अस्पतालमा माइकिङ गर्दै प्रदर्शनकारीलाई बाहिर जान निर्देशन दिइरहेका छन्। चिकित्सकहरूले प्रहरीलाई परिसर बाहिर जान अनुरोध गरेका भए पनि उनीहरू रोकिएका छैनन्।
सिभिल अस्पतालमा उपचारको क्रममा ३ जनाको मृत्यु भइसकेको छ भने करिब १०० जना घाइते छन्। स्वास्थ्यकर्मीले भने, “हरेक १०–१० मिनेटमा घाइतेहरू भर्ना भइरहेका छन्। हामीले सम्भव नभएर अन्यत्र रिफर गरिरहेका छौं।”
घाइतेहरूको उपचार काठमाडौंका अन्य अस्पतालहरूमा पनि भइरहेको छ, जसमा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल, काठमाडौँ मेडिकल कलेज ९केएमसी०, एभरेष्ट अस्पताल र पाटन अस्पताल समावेश छन्।




