मुख्य समाचार

झुम्का कारागारमा रोग प्रकोप, तीन सय कैदी एकै पटक बिरामी

काठमाडौं । सुनसरीको झुम्का कारागारमा एकै पटक तीन फरक रोग फैलिएको पुष्टि भएको छ। चार दिनमै तीन कैदीको मृत्यु भएपछि गरिएको स्वास्थ्य परीक्षणमा स्क्रब टाइफस, डेंगु र इन्फ्लुएन्जा एकै साथ देखिएको हो।

बुधवार कारागारमा गरिएको स्वास्थ्य शिविरमा ६३ जनाको नमुना संकलन गरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। रिपोर्ट अनुसार यी तीन रोग फैलिएको प्रमाणित भएको जनस्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ। साथै, केही कैदीमा जापानी इन्सेफ्लाइटिसको आशंका पनि गरिएको छ, जसको नतिजा आउन बाँकी छ।

कारागार प्रशासनका अनुसार हाल झुम्कामा क्षमताभन्दा बढी १ हजार ७९८ कैदीबन्दी छन्। अत्यधिक भीडभाड र फोहोरका कारण रोग छिट्टै फैलिएको अनुमान गरिएको छ। अहिले करिब ३०० कैदीबन्दी एकै पटक बिरामी परेका छन्।

जेलर सुवासकुमार लामिछानेले भाइरल ज्वरो भएको अनुमान गरिए पनि परीक्षणपछि वास्तविक रोग पत्ता लागेपछि त्यही अनुसार उपचार थालिएको बताए। धरानस्थित बिपी प्रतिष्ठान र इनरुवास्थित जिल्ला अस्पतालमा गम्भीर बिरामीलाई उपचारका लागि पठाइएको छ।

चिकित्सकका अनुसार—स्क्रब टाइफस माइटको टोकाइबाट सर्ने सरुवा रोग हो, ढिलाइ गर्दा ज्यानै जाने खतरा रहन्छ। डेंगु लामखुट्टेको टोकाइबाट सर्ने रोग हो।

इन्फ्लुएन्जा (फ्लु) भाइरसको कारण हुने श्वासप्रश्वाससम्बन्धी रोग हो, जुन हाच्छ्युँ, खोकी वा कुराकानीमार्फत हावामा फैलन्छ। हालसम्म दुई दर्जन बिरामीलाई अस्पतालमा भर्ना गरिएको छ, जसमा अधिकांश उपचारपछि फर्किएका छन् भने केही अझै उपचाररत छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *