काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने दायित्व निजामती कर्मचारीको भएको बताएका छन् । निजामती सेवा दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लोकतन्त्रका लाभहरू वितरण गर्न तथा राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न निजामती सेवाको भूमिका महत्त्वपूर्ण रहेको बताए। नागरिकले विकास र सुशासनको अपेक्षा गरिरहेको सन्दर्भमा निजामती सेवाले त्यसअनुरूप आफूलाई समायोजन, अनुकूलन र परिष्कृत गर्नु अपरिहार्य रहेको उनको भनाइ थियो ।
उपप्रधानमन्त्री सिंहले सेवाग्राहीलाई केन्द्रमा राखेर सरल, छरितो र परिणाममुखी सेवा प्रवाह गर्न निजामती कर्मचारीहरू अझ प्रतिबद्ध हुनुपर्नेमा जोड दि ए। उनले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन लक्ष्य हासिल गर्न निजामती प्रशासनले राजनीतिक मार्गदर्शनमा रही आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए । मुलुकले लिएको दीर्घकालीन लक्ष्य, आवधिक योजना, नेपाल सरकारको नीति तथा कार्यक्रमका साथै चालू आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर कार्य सम्पादन गर्नु निजामती सेवाको मुख्य जिम्मेवारी भएको उनले जिकिर गरे ।
सिंहले भने, ‘विकास, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने दायित्व पनि निजामती सेवाकै काँधमा रहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लोकतन्त्रका लाभहरूको वितरण गर्ने तथा राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न निजामती सेवाको भूमिका अति महत्त्वपूर्ण रहेको छ । नागरिकले विकास र सुशासनको अपेक्षा गरिरहेको सन्दर्भमा निजामती सेवाले त्यसअनुरूप आफूलाई समायोजन, अनुकूलन र परिष्कृत गर्नु अपरिहार्य छ । सेवाग्राहीलाई केन्द्रमा राखेर सरल, छरितो र परिणाममुखी सेवा प्रवाह गर्न निजामती कर्मचारीहरू अझ प्रतिबद्ध हुनुपर्छ । समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन लक्ष्य हासिल गर्न निजामती प्रशासनले राजनीतिक मार्गदर्शनमा रही आफ्नो भूमिका निर्वाह गर्नुपर्दछ । मुलुकले लिएको दीर्घकालीन लक्ष्य, आवधिक योजना, नेपाल सरकारको नीति तथा कार्यक्रमका साथै चालू आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर कार्य सम्पादन गर्नु निजामती सेवाको मुख्य जिम्मेवारी हो ।’
उपप्रधानमन्त्री सिंहले शासन व्यवस्थाको मेरुदण्डका रूपमा रहेको निजामती सेवा राष्ट्र निर्माणको अभिन्न अंग भएको जिकिर गरे । नेपालको संविधानको मर्म र भावनालाई आत्मसात् गरी संघीयताको प्रभावकारी कार्यान्वयन, सार्वजनिक सेवा प्रवाहमा सुधार र भ्रष्टाचार शून्य सहनशीलताको नीतिलाई केन्द्रमा राखी नेपाल सरकार अघि बढिरहेको उनले बताए ।
उनले आम जनतामा व्याप्त निराशालाई चिर्दै आशाको सञ्चारसहित राष्ट्र निर्माणको अभियानमा निजामती कर्मचारीको क्रियाशीलता थप अभिवृद्धि हुने विश्वास व्यक्त गरे । प्रशासनिक अन्तरसम्बन्धलाई बलियो बनाउँदै प्रशासनिक संघीयतालाई सुदृढ तुल्याउन कोसेढुंगाका रूपमा अपेक्षा गरिएको संघीय निजामती सेवा विधेयकलाई संसद्बाट यथाशक्य छिटो पारित गराई कार्यान्वयन गराउनेतर्फ सरकार प्रतिबद्ध रहेको पनि उनले बताए ।




