देश

संसदीय सुनुवाइ समिति सभापतिमा खतिवडाको चयन

काठमाडौँ। सङ्घीय संसद् संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध चयन भएका छन्।

समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा शुक्रबार बसेको बैठकले खतिवडालाई निर्विरोध सभापति घोषणा गरेको हो। यसअघि समितिकी सभापति इस्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त पदमा खतिवडाको मात्र उम्मेदवारी परेको थियो।

बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले खतिवडाको नाम प्रस्ताव गरेका थिए भने नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौले समर्थन जनाएका थिए।

नेपाली विद्यार्थी सङ्घमार्फत राजनीतिक यात्रा सुरु गरेका खतिवडा कांग्रेस केन्द्रीय सदस्यसमेत हुन्। ओखलढुङ्गाबाट प्रतिनिधिसभा सदस्य भइसकेका उनले केही समयअघि राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको जिम्मेवारीसमेत सम्हालेका थिए।

संवैधानिक व्यवस्थाअनुसार सभापतिको पदभार ग्रहण गर्नुअघि उनले आगामी सोमबार सभामुखसँग पद तथा गोपनियताको शपथ लिने छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *