काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समय र परिस्थितिले औंल्याएका विषयलाई ध्यानमा राखेर विधान संशोधन गरिने बताएका छन्।
ललितपुरको गोदवरीस्थित सनराइज हलमा शुक्रबार उद्घाटन गरिएको एमालेको दोस्रो विधान महाधिवेशनमा उनले यस्तो बताएका हुन्।अध्यक्ष ओलीका अनुसार विधान अधिवेशनमा नीतिगत विषयमा मात्र छलफल हुनेछ।
‘हाम्रो पार्टीको विधानमा भएका व्यवस्थाको कार्यान्वयन, समय र परिस्थितिले औंल्याएका, माग गरेका आवश्यक संशोधन र परिमार्जन गर्नुपर्ने कुरा छन्,’ ओलीले भने, ‘अघिल्लो महाधिवेशनदेखि यताका काम–कारबाही, सफलता, कठिनाइ र उपलब्धि र चुनौतीको सामना कसरी गर्ने भन्ने छलफल पनि हुनेछ।’
पार्टीका कतिपय विषय अनावश्यक रूपमा बाहिर सार्वजनिक गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
‘ती कुरा विधान महाधिवेशनसँग सम्बन्धित होइनन्, विधान वा विधिका प्रश्नसँग सम्बन्धित छैनन्। कमिटीगत छलफलका विषय तिनकै बीचमा रहनेछन्,’ ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको नाम नलिई भने।




