कर्णाली प्रदेश

विद्यालय समायोजनलाई लिएर दुई दिनदेखि वडा कार्यालय तालाबन्दी

सिमकोट (हुम्ला)। हुम्लाको सर्केगाड गाउँपालिका–१ को वडा कार्यालय जैरमा स्थानीयले विद्यालय समायोजनको विरोध गर्दै दुई दिनदेखि तालाबन्दी गरेका छन् ।

गाउँपालिकाले माझ गाउँस्थित सिर्जनशील प्राथमिक विद्यालयलाई डिल गाउँको बिहानी प्राथमिक विद्यालयसँग गाभ्ने निर्णय गरेपछि स्थानीयले मङ्गलबारदेखि तालाबन्दी थालेका हुन् ।

माझ गाउँवासी प्रयागलाल बुढाले कुनै परामर्श वा जानकारी बिना एकलौटी निर्णय गरिएकाले आन्दोलन गर्नुपरेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुपलाल रावतले आफूलाई समेत जानकारी नदिइएको भन्दै असन्तुष्टि जनाए । अभिभावकहरूले २०६८ सालमा स्थापना भएको विद्यालय कुनै हालतमा समायोजन गर्न नदिने अडान लिएका छन् ।

वडा कार्यालय बन्द भएपछि दुई दिनदेखि सम्पूर्ण सेवा ठप्प भएको वडाध्यक्ष बलबहादुर कार्कीले बताए । उनले सिर्जनशील विद्यालयमा जम्मा ५२ विद्यार्थीमध्ये आधा भन्दा बढी पहिले नै बिहानीमा अध्ययनरत भएकाले सबैलाई एउटै स्थानमा पायक पर्ने गरी विद्यालय समायोजन गरिएको स्पष्ट पारे ।

उनका अनुसार दुई वर्षअघि नै दुवै विद्यालयलाई गाभ्ने सहमति भएको थियो । तर, अहिले आएर स्थानीय अभिभावकहरू आन्दोलनमा उत्रिएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *