खेलकुद

‘प्रधानसेनापति ट्रफी २०८२’ आजदेखि सुरु

काठमाडौँ।सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेल मैदानमा ‘प्रधानसेनापति ट्रफी–२०८२’ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन प्रधानसेनापति अशोकराज सिग्देलले गरे।

उद्घाटन समारोहमा सहभागी टोलीका खेलाडीहरूले आकर्षक मार्चपास प्रस्तुत गरेका थिए। उद्घाटन खेलका रूपमा आयोजित पुरुषतर्फ १,५०० मिटर दौडमा सुदूरपश्चिम पृतनाका मुकेशबहादुर पालले तीन मिनेट ५४.०२ सेकेन्डमा दूरी पार गर्दै नयाँ रेकर्ड सहित पहिलो स्थान हासिल गरे। त्यस्तै मध्यपृतनाका लोकेन्द्र बोहोरा दोस्रो र विशेषफोज बाहिनीका अक्कलबहादुर पाल तेस्रो भए।

महिलातर्फको ८०० मिटर दौडमा १३ नं बाहिनीकी अनिषा विश्वकर्मा प्रथम, १६ नं बाहिनीकी सरस्वती भट्टराई द्वितीय र मध्यपूर्वी पृतनाकी बालिका श्रेष्ठ तृतीय घोषित भए। विजयी खेलाडीहरूलाई प्रधानसेनापति सिग्देलले पुरस्कार प्रदान गरे।

प्रतियोगिता असोज १० गतेसम्म चल्नेछ। यस अवधिमा दौड, पौडी, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल र जुडो खेलमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा आठ पृतना र छ बाहिनीबीच प्रतिस्पर्धा हुनेछन्। केही खेल पोखरा र हेटौँडामा पनि आयोजना गरिने जनाइएको छ।

सन् २०६५ बाट सुरु भएको यो प्रतियोगिता नेपाली सेनाभित्र उत्कृष्ट खेलाडी पहिचान, प्रतिभा प्रवर्द्धन र खेलकुद विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ। सेनाका अनुसार, यस्ता प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरसम्म नेपालको झण्डा फहराउँदै देशको गौरव उच्च राख्न सफल भएका छन्। हालसम्म सेनासँग आबद्ध २६ खेलाडीले विश्वस्तरीय तथा ओलम्पिक प्रतियोगितामा सहभागिता जनाई सफलता हात पारेका छन्।

उद्घाटन समारोहमा सैनिक तालिम महानिर्देशक ध्रुवप्रकाश शाहले त्रिभुवन आर्मी क्लबको स्थापना उद्देश्य, सैनिक खेलाडीको योगदान र पछिल्लो सफलताबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *